१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


अस्थिर राजनीतिक अभ्यास: मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना

सरकारमा प्रधानमन्त्रीसहित २१ मन्त्री र २ राज्यमन्त्री

39
Shares

काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ ।

प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गर्नुभयो भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नुभयो । त्यस्तै, साढे चार महिनाको अवधिमा तीन पटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिनुभयो । उहाँले १०औंपटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गर्नुभयो । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री भएका छन् भने गठबन्धनका बाँकी दलहरूबाट १४ जना मन्त्री भएका छन् । १० औंपटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता भने पाउन सकेको छैन । वन तथा वातावरण मन्त्रालय अझै प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको छ । नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर पुष १० मा नेकपा एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले फागुन १० मा पुनः गठबन्धन परिवर्तन गर्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।