
काठमाडौं । नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकले अपराध गर्नेलाई राज्य संयन्त्रले कानुनी कठघरामा उभ्याउन खोज्दा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने औंल्याएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले जारी राखेको अनुसन्धानमा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने कांग्रेसले जनाएको छ ।
ठगी गिरोहमा संलग्न भएको आशंकामा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई नक्कली भुटान शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्नेमा कांग्रेसकै केही नेताको पनि संलग्नता रहेको चर्चा भइरहेका बेला पदाधिकारी बैठकले दोषीलाई कारबाही हुनुपर्ने जनाएको हो ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्