
सप्तरी । उपचारमा लागेको खर्चको रकम तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालले चार दिनदेखि ‘बन्धक’ बनाएर राखेको दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफन्तले घर ल्याएर परम्पराअनुसार अन्त्येष्टि गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–५ का सदा अति विपन्न परिवारका हुन् । उनलाई ब्रेन ह्यामरेज भएपछि परिवारका सदस्यले उपचारका लागि २८ चैतमा विराटनगरको न्युरो अस्पतालमा पुर्याएका थिए । २० दिनपछि उपचारकै क्रममा १९ वैशाखमा उनको मृत्यु भएको थियो ।
उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेपछि मात्रै शव लैजान पाउने भन्दै अस्पतालले शव नदिएपछि सदा परिवार रकमको जोहो गर्न लागेका थिए । सुरुमा स्थानीय साहुसँग कागज गरेर २ लाख जुटाएर औषधि पसल र अस्पताललाई बुझाएको मृतककी पन्ती मालतीले बताइन् ।
आईसीयूमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधि पसलको २ लाख ६५ हजार रुपैयाँ तिर्नुपर्ने भएको मृतकका भतिजा आशिषले सुनाए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्