
काठमाडौं, भदौ १९ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३३औं ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाँउदै टोलीको जित पक्का गरे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै २७ रनमात्र खर्चिए ।
यो हारसँगै एसिया कप खेल्ने नेपालको सपना चकनाचूर भएको छ ।
हालैमात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो ।
तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुआती दुई खेलमा ओमन र युएईसँग हारेको थियो ।
मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमनले युएईलाई त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना जीवित थियो ।
तर, क्वालालम्पुरको युकेएम ओभलमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोड्दा बसन्त रेग्मीले अविजित १५ रन तथा अनिलकुमार शाहले १५ रन जोडे ।
ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा हङकङका इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए भने मोहम्मद अजिज खान र तनवीर फैजलले समान २/२ विकेट झारे ।
प्रतिक्रिया दिनुहोस्