
भरतपुर । पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उहाँ साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उहाँको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उहाँलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत बोटेको बाघको स्याहार सुसार गर्नु जागिर नै हो । तर उहाँको अनुभव सन्तुष्टिसँग जोडिएको छ । ‘रोजगारी त भयो भयो बाघको स्याहार सुसार गर्नु आत्मसन्तोष पनि हो,’ उहाँले भन्नुभयो, ‘पहिले त बाघ देख्ने बित्तिकै डर लाग्थ्यो । विस्तारै बानी परेपछि बाघको स्याहार सुसार सामान्यजस्तै लाग्छ ।’
२७ वर्षदेखि निकुञ्जमा कार्यरत बोटे २५ वर्षदेखि बाघकै स्याहार सुसार गर्नुहुन्छ । अहिले बाघको आनीबानी सबै थाहा भएकाले पनि स्याहार सुसार गर्न सजिलो भएको उहाँको अनुभाव छ ।
विशेषतः घाइते वा नरभक्षी भएपछि उद्धार गरेर ल्याइएका बाघलाई उहाँले खोरमा राखेर स्याहार सुसार गर्नुहुन्छ । अहिले पनि निकुञ्जको मुख्यालय नजिकै रहेको कसरामा तीनवटा यस्तै बाघ थुनेर पालिएका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्