
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन् ।
गृहमन्त्री छँदा फरार सांसद कोइरी कहाँ छन् भन्ने सम्बन्धमा कुनै जानकारी नभएको बताएका उनले सांसदका रूपमा प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भने यसबारे आफूलाई गृहमन्त्री छँदा नै थाहा भएको बताए ।
बैठकमा उनले भने, ‘यो मेरा लागि पेचिलो विषय हो । यसै विषयलाई लिएर मैले आलोचना खेपेको छु। उहाँ (लक्ष्मी कोइरी) बिरामी हैन, फरार अभियुक्त हो । फरार रहँदा उहाँलाई उहाँकै सालाले भगाएको र त्यहाँ (भारत) को प्रहरीले नियन्त्रणमा लिएको तस्बिर मसँग छ ।’
तर लामिछानेले माघ ५ गते गृहमन्त्रीका रूपमा प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक इन्च पनि बाहिर निस्किँदैन । म यहाँहरूलाई र यो सम्मानित संसद्लाई यसको ग्यारेन्टी दिन चाहन्छु । त्यसको एउटा प्रक्रिया छ, त्यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नु हुने छैन भन्ने कुराको जानकारी यसअगाडि पनि सम्मानित संसद्मा गराइसकेको छु ।’
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्