
इटहरी । गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो। जहाँ इटहरी उपमहानगरपालिका वडा नम्बार २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे ।
लगत्तै सोही राति युवा संघ इटहरीले सो बोर्ड उखेलेपछि अहिले दुई उपमहानगरपालिकाबीचको सीमाको विषयलाई लिएर विवाद चर्किएको छ । बोर्ड हटाएपछि आफूले कारबाही गर्ने बताएका धरानका नगरप्रमुख साम्पाङले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफूले सीमा खोज्नु अधिकार भएको बताएका छन् । उनले आफ्नो क्षेत्राधिकार यकिन गर्नु कर्तव्य भएको भन्दै संघीय सरकार र नापी विभागद्वारा जारी नक्साका आधारमा पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाएको बताएका हुन् ।
‘सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कोही कसैलाई छैन र हुनुहुँदैन, त्यसो भएको हुँदा कसुरदार पक्षलाई कानूनी कारबाहीको माग गर्दछु,’ नगरप्रमुख साम्पाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाइदिन सम्बन्धित पालिका र सम्बन्धित निकायमा माग गर्दछु ।’आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको दावी छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस्