
काठमाडौं/तनहुँ । पार्टी स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा चामत्कारिक जित हासिल गरेको छ ।
सो दलका सभापति रवि लामिछाने र उपनिर्वाचनको केही दिनअघि मात्रै कांग्रेसबाट रास्वपामा प्रवेश गरेका डा. स्वर्णिम वाग्ले भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ ।
गत मंसिर ४ मा भएको आम निर्वाचनमा चितवन–२ बाट ४९ हजार ३ सय मतका साथ निर्वाचित लामिछानेले उपनिर्वाचनमा सोही क्षेत्रबाट आफ्नै पुरानो रेकर्ड तोड्दै ५४ हजार १ सय ७५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ मत ल्याउनुभएको छ । श्रेष्ठलाई ४३ हजार ६१ मतान्तरले पछि पार्दै लामिछानेले जित हासिल गर्नुभएको होे । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाउनुभएको छ ।
मंसिरको निर्वाचनमा राम्रो मतान्तरसहित निर्वाचित लामिछाने एमाले–माओवादी केन्द्रसहितको सात दलीय गठबन्धनमा समावेश भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो । उहाँलाई दोहोरो नागरिकता काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै नेपाली नागरिकता खारेजसँगै सांसद र मन्त्री पदसमेत खारेज गरेको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्