८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


एसियाडमा रजत जित्न सफल पाराग्लाइडिङ खेलाडीले पाए पाँच/पाँच लाख


0
Shares

काठमाडौं, भदौ १८ । इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद (एसियाड)मा नेपाललाई रजतपदक दिलाएर पदकविहीन हुनबाट जोगाएका नेपाली पाराग्लाइडिङका खेलाडीहरु नगदसहित सम्मानित भएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पदक जित्न सफल खेलाडीलाई जनही पाँच लाख रुपैयाँसहित सम्मान गरे ।

विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको टोलीले पाराग्लाइडिङको टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलाएको हो ।

त्यस्तै, मुख्य प्रशिक्षक योगेश भट्टराईले तीन लाख तथा सहायक प्रशिक्षक सानुबाबु सुनुवारले डेढ लाख रुपैयाँ पाएका छन् ।

पाराग्लाइडिङ संघले पाँच लाख रुपैयाँ पाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को २०६८ साल चैत २१ गतेको सन्चालक समिति बैठकको निर्णयअनुसार सो पुरस्कार दिइएको हो ।

खेलाडीहरुलाई पुरस्कृत गर्नुअघि दशरथ रंगशालाबाट बाजागाजासहित पुरस्कार वितरणस्थल राष्ट्रियसभागृह ल्याइएको थियो ।

राखेपले खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाएपनि उनी उपस्थित भएनन् ।

इन्डोनेसिया एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएपनि एउटामात्र पदक जितेको हो ।

एसियाली खेलकुदमा नेपालको यो दोस्रो रजतपदक हो । यसअघि, सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको तर्फबाट रजतपदक जितेकी थिइन् ।