
काठमाडौं, भदौ १८ । बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन ।
नेपालले २०७२ साल माघमा बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो ।
उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
पाँचौं संस्करणको खेलतालिका सार्वजनिक गरिँदासमेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।
उनले भने–‘अघिल्लो संस्करणमा जितेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिँदैनौं ।’
त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।
बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
बंगलादेश फुटबल महासंघले गएको शनिबार पाँचौं संस्कारणको खेलतालिका सार्वजनिक गरिसकेको छ ।
पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ ।
शनिबार सार्वजनिक गरिएको खेलतालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् ।
समूह ‘बी’मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्