१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


‘आचारसंहिता नमान्नेलाई नियन्त्रणमा लिनू’

तीनवटा निर्वाचन क्षेत्रमा भोलि उपनिर्वाचन

208
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भइसकेकाले आचारसंहिता कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवाला निकाय र अधिकारीलाई निर्देशन दिएको छ ।

आयोगका सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेका अनुसार मौन अवधिमा आचारसंहिताविपरीतका गतिविधि गर्नेगराउनेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिई कारबाही गरिनेछ । आयोगले यस विषयमा शुक्रबार पाँचबुँदे निर्देशन जारी गरेको छ ।

तनहुँ १, बारा २ र चितवन २ मा आइतबार उपनिर्वाचन हुँदैछ । बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनभन्दा ४८ घन्टाअघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न पाइँदैन। त्यस्तै निर्वाचन आचारसंहिताविपरीत हुने अन्य खालका गतिविधि पनि गर्न पाइँदैन ।

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भएनभएको अनुगमन गर्न विशेष टोली खटाएको जनाएको छ । उपनिर्वाचन हुने जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।