
सर्लाही । पछिलो समय मिटर ब्याजको आतंक बढी रहेको भनेर देशै भरिका मिटर ब्याज पीडितहरु काठमाडाैं केन्द्रित भइरहेको बेला सर्लाहीको चन्द्रनगरमा मुसहर समुदायको महिलाहरुको अगुवाहीमा महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको छ ।
संस्थाकी संथापक अध्यक्ष शिवकलीदेवी माझीको अध्यक्षता तथा चन्द्रनगर गाँउपालिकाका प्रमुख राजकुमार महतोको प्रमुख आतिथ्यता र सहयोगी संस्था साप नेपालका प्रदेस संयोजक जनक कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यहरु नेपाल राष्ट्रिय मुसहर संघ, मुसहर महिला सशक्तिकरण मञ्चका पदाधिकारी लगाएयका २ सय ५० जना भन्दा बढीकाे सहभागिता रहेको थियो ।
साप नेपालबाट सञ्चालित विभिन्न कायक्रमको १ हजार ६ सय महिलाको यातायात तथा खाजा बापतको ३२ लाख रुपैयाँ मूल पुँजी रहेको सहकारीमा प्रति सदस्य ४ हजार बराबरको सेयर रकम हुने गरी सहकारी स्थापना गरिएको साप नेपालको प्रदेश संयोजक जनक कार्कीले बताउनु भयो ।
नेपाल राष्ट्रिय मुसहर संघका अनुसार ६ सय २० घरधुरी र ३ हजार ७ सय ५५ जना रहेको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदाय दसाकौदेखि गाउँका महाजनहरुसंग ४ देखि ५ रुपैयाँ ब्याजदर (४८% देखि ६० % ब्याजदर) मा ऋण लिने गरेका छन् ।
उक्त ऋण तिर्न मुसहर समुदाय सधैभरी महाजनको घर तथा खेत वारिमा गएर न्युनतम ज्यालामा काम गर्नु पर्ने बाध्यता छ । कमजोर आर्थिक अवस्था, शिक्षा तथा चेतनाको अभावका कारण उनीहरु बधुवा मजदुरको रुपमा साहुको घरमा गएर काम गर्नु पर्ने अवस्था छ । ईटाभट्टा एवं भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा कति पयले अकालमा ज्यान गुमाउनु परेको तितो यथार्थ ताजा छ ।
७९ % मुसहर समुदाएको आफ्नो नाममा घर जग्गाको लालपुर्जा नभएको कारण बैक तथा बित्तय संस्थामार्फत कुनै पनि आर्थिक कारोबार नहुने हुँदा महाजनबाट चर्काे ब्याजदरमा ऋण लिन बाध्य छन् । घरमा बिमारी पर्दा होस वा सामाजिक कार्य गर्न पैसा आवश्यक हुँदा महाजनकै भर पर्नुपर्ने अवस्था रहेको छ ।
आज कमाएर आजै रमायो भोलिको लागि बचत नगर्ने भन्ने आरोप लाग्ने गरेका मुसहर महिलाहरु विगत डेढ वर्षदेखि साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) को समुहमा बसेर बचतको महत्व बुझेर मासिक बचत गर्दै आइरहेका थिए ।
संस्थाले उनीहरुलाई समुह कृषिमा दर्ता गरेर मासिक बचत गर्ने सिकायो । बैठकको खाजा खर्च बापतको पैसा बचाएर समुहको कोषमा राखेर बचत गर्ने बानीको विकास गर्न सिकायो । फलस्वरुप मुसहर अगुवाको सहयोग र सहकार्यमा महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको संस्थाकी संस्थापक अध्यक्ष सिवकली माझीले बताउनु भयो ।
करिब ८ सय महिला सेयर सदस्यको रुपमा सहकारीमा आबद्ध भएर आय आर्जन मुलक कार्यमा लागेकाे अध्यक्ष माझीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्