५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


९० वर्षमा नागरिकता


78
Shares

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ मरकट्टे घर भएकी अनिता विष्टले ९० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोलीले उनको घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो ।

नागरिकता नहुँदा अनिता सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिइन् । नागरिकता पाएसँगै अब उनले सामाजिक भत्तासमेत पाउने भएकी छन् । अमरगढी–३ डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी बनेका छन् । अनिताका छोरा रोजगारीको सिलसिमा भारतमा छन् ।

पतिको मृत्यु दर्ता भएको र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । अनिताको माइती घर भारत हो । उनले भारतीय नागरिकता लिएकी थिइनन् । उनी सानै उमेरमा विवाह गरेर डडेल्धुरा आएको बुझिएको न्यौपानेले बताए । उनको नागरितामा जन्म मिति १९८९ माघ १२ गते उल्लेख गरिएको छ भने जन्म स्थाथान भारत देश पञ्चावत छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।