Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


दिगम्बर रायलाई २ वर्ष ८ महिना कैद सजाय


104
Shares

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गर्दै कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलासहितको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो । तत्कालीन अध्यक्ष रायलाई दुई वर्ष ८ महिना कैद हुने फैसला भएको छ।

दोषी ठहर भएका पाँचै जनालाई ६२ लाख ८८ हजार रुपैयाँभन्दा बढी बिगो कायम भएकामा यसको दामासाहीले प्रतिव्यक्ति हुन आउने रकम बिगो र त्यति नै रकम जरिमाना भराउने फैसला गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । यसअघि उनीहरूमाथि जनही १२ लाख ५७ हजार ७ सय १३ रुपैयाँ बिगोबमोजिम जरिमानासहित कुल ६२ लाख ८८ हजार ५६९ रुपैयाँ जरिमाना कायम गरेको थियो ।

यस्तै, विशेषले प्रतिवादी सूर्यदेव साहलाई दुई वर्ष सात महिना कैद सजाय हुने फैसला गरेको छ । उनी तत्कालीन कार्यकारी निर्देशक हुन् । विशेषका अनुसार परिषद्की नायब सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज शर्मा ढकाल र तत्कालीन कार्यकारी निर्देशक राजेश्वर साहलाई भने जनही २ वर्ष ६ महिना कैद हुने फैसला भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।