Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


संकटमा वैकल्पिक शक्ति

मन्त्री बन्न आर्थिक सहयोग मागेको श्रेष्ठ–प्रसाईं टेप काण्ड सार्वजनिक

2.5k
Shares

काठमाडौं । सुशासन र आर्थिक पारदर्शितासहित वैकल्पिक शक्तिको नारा दिएर मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्री बनाउन आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेको छ ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीले दुई करोड मागेको भन्दै उक्त रकम जुटाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको टेप बाहिरिएसँगै रास्वपामाथि यस्तो आरोप लागेको हो । श्रेष्ठ–प्रसाईंबीचको टेलिफोन वार्ताको अडियो टेप आइतबार सार्वजनिक भएसँगै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपा पार्टी संकटमा परेको छ ।

टेप बाहिरिएसँगै रास्वपाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा ‘श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ’ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

साथै छानबिन पूरा नभएसम्म श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि कामकारबाही नगर्न/नगराउन निर्देशन दिइएको छ । यस्तै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टे स्पष्टीकरण पनि सोधिएको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।