Logo २ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026


निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत


286
Shares

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताउनुभयो । “तपाईंहरुको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उहाँले भन्नुभयो, “मैले अर्थतन्त्र सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।”

सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा व्रिफिङ पनि गर्नुभएको थियो ।

भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउनु सुझाव दिनुुभयो । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उहाँको भनाइ थियो । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन महासङ्घले आग्रह गरेको छ ।

सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ । अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ”, अध्यक्ष गोल्छाले भन्नुभयो ।

यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उहाँले अर्थमन्त्री समक्ष सुझाव दिनुभयो ।