२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


उखु किसानलाई पैसा दिन चीन उद्याेगकाे आलटाल


156
Shares

सर्लाही । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् ।

यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले वर्षेनी आन्दोलन गर्दै आइरहेका छन् । सुरुमा केहीलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्कमै नरहेको गोडैता नगरपालिका–९, का किसान सीताराम यादवले गुनासो गर्नुभयो ।

“सुरुमा केही किसानलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानको पैसा दिन मिलले वास्तै गरेको छैन्,” यादवले भन्नुभयो, “मिल बन्द भइसकेको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा हामीलाई व्यवहार धान्न गाह्रो परिसकेको छ ।”

उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन नपाएको उहाँले गुनासो गर्नुभयो । उखु खेतीबाटै व्यवहार चलाउने किसान उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण काड्न बाध्य भएका छन् । धनकौल गाउँपालिका–३, का किसान रामस्वार्थ साहले उखुको पैसा नपाउँदा उखु काट्ने जन, ढुवानी गर्ने ट्याक्टरको पैसा धरी तिर्न नपाएको गुनासो गर्नुभयो ।

“उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अयौल छ,” साहले भन्नुभयो ।

अब पनि चिनी उद्योगले भुक्तानी नदिए मिटरब्याजबाट पीडित भएकाहरुले झैँ आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने साहको भनाइ छ । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट भने किसानले क्रमिक: रुपमा भुक्तानी पाइरहेका छन् ।

किसानलाई भुक्तानीमा आलटाल गर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहका सञ्चालक स्थानीय प्रशासन र सञ्चारकर्मीको समेत सम्पर्कमा आउन चाँहदैनन् । बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा किसानले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका छन् । भुक्तानीकै झन्झटका कारण उखु खेती छाड्ने किसान पनि बढ्दै गएका छन् ।