१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


आईपीएलको १६ औं संस्करण आजबाट


2.197k
Shares

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शुक्रबारबाट सुरू हुँदैछ ।

शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

गुजरात हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाईटराईडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाईटन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् ।

हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई/दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक/एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन् । यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ ।

७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।