२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


एशिया कप छनोट क्रिकेटमा नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित


0
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी एशिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ ।

क्वालालम्पुरको युकेएम ओभल मैदानमा भएको आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हराएको हो ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको लागि ओपनर अनिल कुमार शाहले सर्वाधिक ४३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ तथा ज्ञानेन्द्र मल्लले २९ रनको बनाए ।

सिंगापुरका सेलाडोर विजय कुमार र अनन्थ कृष्णले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो ।

सिंगापुरका कप्तान चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाएका थिए ।

सिंगापुरलाई अलआउट गर्न नेपालको लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३÷३ विकेट लिए ।

सोमपाल कामीले २ विकेट लिँदा वसन्त रेग्मीले १ विकेट लिएका थिए ।

लगातार दुई खेल गुमाएको नेपालले मलेसियालाई १९ रनले पराजित गर्दै हिजो बल्ल पहिलो जीत निकालेको नेपाललाई खेलमा टिकिरहन सिंगापुरविरुद्ध फराकिलो अन्तरमा जित्नै पर्ने दबाब थियो ।

पहिलो खेल ओमानसँग ७ विकेट तथा दोस्रो खेल युएईसँग ७८ रनको अन्तरले गुमाएको नेपालले अन्तिम खेल भने हङकङसँग सेप्टेम्बर ४ मा खेल्नेछ ।