
काठमाडौं । अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ चिनियाँसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंले ठगी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही गरिरहेको छ।
उनीहरुले सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’ मा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत प्रलोभनमा पारी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ ।
साथै उनीहरुको साथबाट विभिन्न कम्पनीका १२ थान ल्यापटप, विभिन्न कम्पनीका ७७ सेट मोबाइल (सिमसहित), ७७ थान सिमकार्ड, नेपाली नगद ४ लाख १ हजार ८ सय ८० रुपैयाँ, २ थान डेस्कटप र ४ थान राउटर समेत बरामत गरिएको छ । उनीहरुबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्