
काठमाडौं । काठमाडौं महानगरपालिकाले गर्मीयाम सुरू भएसँगै आगलागीको घटनाबाट जोगिन घरघरमा फायर स्टिङगुइसर राख्न आग्रह गरेको छ ।
विशेष गरी भान्सामा प्रयोग हुने एलपी ग्यास चुहेर र विद्युत् सर्ट भएर आगलागीका घटना हुने गरेका छन् । यस्ता आगलागीका घटनालाई नियन्त्रण गर्न कामपाले महानगरवासीलाई फायर स्टिङगुइसर राख्न आग्रह गरेको हो । कामपा विपद् व्यवस्थापन विभागका निर्देशक नवराज थापाले सामान्य आगलागीका घटनालाई नियन्त्रण गर्न घरघरमा फायर स्टिङगुइसर राख्नुपर्नेमा जोड दिनुभयो ।
विभागले गएको वर्षदेखि वडाको सिफासिरमा महानगरवासीलाई निःशुल्क रूपमा फायर इस्टिङगुइसर वितरण गरिरहेको छ । अघिल्लो विभागीय प्रमुख रविनमान श्रेष्ठले दुई महिना अघिसम्म करिब ३ सयको हाराहारीमा फायर स्टिङगुइसर वितरण गरिएको जानकारी दिनुभयो ।
विभागले विद्यालय, समुदाय, क्लब, टोल र व्यक्तिलाई समेत फायर स्टिङगुइसर दिने गरेको छ । पछिल्लो एक महिनामा थप सय वटा फायर स्टिङगुइसर वितरण गरेको विभागीय प्रमुख थापाको भनाइ छ । उहाँका अनुसार विभागले दुई महिना अभियानकै रूपमा सबै वडामा जनचेतनामूलक तालिम सञ्चालन गरी फायर इस्टिङगुइसर वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्