३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपाल टेलिकमको मोबाइल र इन्टरनेट ग्राहक घट्दै


130
Shares

काठमाडौं । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ ।

नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो ।

टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८० हजार २ सय ३८ मा सीमित भएको छ । टेलिकमको सबैभन्दा बढी ग्राहक जीएसएम मोबाइलको ग्राहक घटेको छ । मंसिरसम्ममा २ करोड १ लाख ८६ हजार १ सय ६० रहेकोमा पुसमा आइपुग्दा १ करोड ९८ लाख ४२ हजार ७ सय ३२ रहेको छ । नेपाल दरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमै नेपाल टेलिकमसहितका मोबाइल सेवा प्रदायकको सिमसंख्या कुल ५४ लाख ७२ हजार १ सय ६२ संख्याले घटेको छ ।

एक वर्षमा सबैभन्दा बढी अर्थात् ३४ लाख ६८ हजार १ सय ५५ ग्राहक एनसेलले गुमाएको छ । एनसेलको पुससम्म १ करोड ३४ लाख ९ हजार ६१ जना प्रयोगकर्ता बाकी रहेका छन् । यद्यपि, गत मंसिरको तुलनामा पुसमा भने १५ सय ग्राहक बढेको छ । दरसञ्चार कम्पनी नेपाल टेलिकमले पनि एक वर्षमा २० लाख ५२ हजार ९ सय ९१ ग्राहक गुमाएको छ । हाल कम्पनीका २ करोड ९ लाख ८० हजार २ सय ३८ जना प्रयोगकर्ता रहेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।