२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कांग्रेसद्वारा प्रदेश–५ प्रदेशसभा बैठक अवरुद्ध


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, असार ४ । प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबार ५ नम्बर प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

‘समृद्ध प्रदेश, खुसी जनता’ सपना देखाएर सरकारले एकलौटी बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेश–५ को प्रदेशसभा बैठक पहिलोपटक अवरुद्ध गरेको हो ।

सरकारले असार १ गते ल्याएको बजेटमा जिल्लागत विभेद गरिएको कांग्रेसको आरोप छ । त्यसलाई नसच्याएसम्म बैठक अवरुद्ध गर्ने कांग्रेसले जनाएको छ ।

सोमबारको बैठक सुरु हुनासाथ बजेट छलफलमा सहभागी भएका कांग्रेस प्रदेशसभा सदस्य डिल्ली चौधरीले बजेट सन्तुलित नभएको भन्दै प्रदेशसभा अवरुद्ध गर्ने बताएका थिए ।

सांसद चौधरीले आफ्नो धारणा राखेसँगै कांग्रेसका सांसद उभिएर विरोध जनाएका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले पटक–पटक बस्न आग्रह गरेपनि नबसेपछि कारबाही अघि बढाएका थिए ।

त्यसलगत्तै विपक्षी दल बैठकबाट बाहिरिएपछि सभामुख घर्तीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, सहमति नजुटेपछि बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित गरिएको छ ।