
काठमाडाैं । कोशी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिने भएको छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अन्य प्रदेश भन्दा कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको बताउनुभयो । कोशी प्रदेश सभामा रहेको माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरि माओवादी केन्द्र संसदीय दलको निर्णय सार्वजनिक गरेका हुन् ।
यसैबीच, नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।
पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ । माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको हो ।
माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गर्नुभयो । नाम राख्नु पर्ने बाध्यताका कारण प्रदेशको नाम राखिएको बताउँदै उहाँले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्