८ असार २०८१, शनिबार | Sat Jun 22 2024


आज विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाइँदै


156
Shares

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने रहेको छ ।

सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नेपनका अझै वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् । सामाजिक लाञ्छना भेदभावको भयका कारण ठूलो संख्यामा क्षयरोगी उपचारमा नआउने चिकित्सकहरू बताउँछन् ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार आठ सय रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

केन्द्रका अनुसार आ.व. २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।