१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


सञ्चारमन्त्री शर्माद्वारा महसुल दर घटाउन भारत सरकारसँग आग्रह


1.469k
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति उहाँले ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाली चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थल भएको भन्दै मन्त्री शर्माले नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो ।

यस्तै नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उहाँले भारत सरकारसँग अनुरोध गर्नुभएको छ ।

यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट अधिकाधिक सहभागिता हुने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो ।