९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


बिम्स्टेक सम्मेलनसँगै धार्मिक भ्रमणको मोह (भिडियो)


0
Shares

सरोज अधिकारी (इमेज)

काठमाडौं, भदौ १६ । काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा आएका राष्ट्र तथा सरकार प्रमुखहरुको धार्मिक मोह उत्तिकै देखियो ।

बिम्स्टेक शिखर सम्मेलन शुक्रबार सकियो । सम्मेलनमा सहभागी हुन आएका पाँच देशका राष्ट्र/सरकार प्रमुखसहितको टोली फर्किसकेका छन् ।

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेना भने आइतबारमात्र स्वदेश फर्कंदैछन् ।

यसपटकको सम्मेलनले बिम्स्टेकलाई सक्रिय बनाउन सहमतिमात्र गरेको छैन, यसका स्थायी संयन्त्र बनाउने सहमतिसमेत गरेको छ ।

त्यसअलवा यसपटकको सम्मेलनमा सहभागी हुन आएका राष्ट्र÷सरकार प्रमुखहरुले उत्तिकै चासोपूर्वक धार्मिक यात्रा पनि सम्पन्न गरे ।

मुख्यगरी म्यानमारका राष्ट्रपति विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको धार्मिक आस्था स्पस्ट देखियो । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकको धार्मिक आस्थाबारेको चर्चा राम्रै भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक पटकझैं यसपटक पनि नेपाल आउँदा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गर्ने अवसर छुटाउन चाहेनन् । बिम्स्टेकका लागि आउँदा पनि मोदी शुक्रबार पशुपति पुगेर झन्डै आधा घन्टा पशुपतिनाथको पूजामा बिताए र प्रसाद लिएर फर्किए ।

त्यतिमात्र होइन, पशुपति क्षेत्रमा निर्माण गरिएको नेपाल–भारतमैत्री धर्मशालाको उद्घाटन गर्न भ्याए ।

शुक्रबार बिहान नै श्रीलंकाका राष्ट्रपति सिरिसेनाको नाममा पनि विशेष पूजा तथा अभिषेक गरियो, पशुपतिमा । सिरिसेना बुद्धमार्गी हुन् । तर, उनले पशुपति जाने इच्छा व्यक्त गरेपछि त्यसको स्वीकृति दिइएको थियो ।

उनले पशुपतिनाथमा झन्डै एक घन्टा समय बिताए । उनी शनिबार भने लुम्बिनी गए र दिनभर उतै बिताए ।

बुद्धिस्ट बाहुल्य देश म्यानमारका राष्ट्रपति भदौ १२ गते नै नेपाल आए र त्यसको भोलिपल्ट भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी पुगे । लुम्बिनीमा केही घन्टा बिताएर र काठमाडौँ फर्किए ।

बिम्स्टेकमा रहेका सातमध्ये चार राष्ट्र बुद्धिस्ट बाहुल्य छन् । दुईमा हिन्दुको बाहुल्यता छ । संयोग के छ भने नेपाल हिन्दु र बौद्धमार्गी दुवैका लागि धार्मिक आस्थाको राम्रो केन्द्र बन्नसक्छ ।

भिडियो हेर्नुहोस्