Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रधानमन्त्री दाहाललाई १ सय ७८ सांसदको मत पक्का


4.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रधानमन्त्री भएपछि एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन थालेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलोपटक २६ पुसमा संसद्को विश्वास लिएका थिए । त्यसबखत सरकारमा सघाएको दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्थाअनुसार पुनः विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० को (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका मत पाउने सम्भावना छ । नेमकिपाले यसअघिसमेत प्रचण्डलाई विश्वासको मत दिएको थिएन । यस्तै, जनमोर्चाले पनि प्रचण्डलाई विश्वासको मत दिएको थिएन । यसपटक प्रचण्डले जनमोर्चाको पनि मत पाउने अवस्था छ ।

यसपटक प्रधानमन्त्रीमा प्रचण्डलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाले विश्वास दिने निश्चित छ । यस्तै, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्याउनुपर्छ । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका ८९ मध्ये ८६ सांसदको मत पाउने सम्भावना छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।