काठमाडौं । विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम शून्य दशमलव २५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ ।
चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम हुने भएको छ । एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने ११ दशमलव ५० प्रतिशतमा झारिएको छ ।
यसैगरी, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ दशमलव ५० र रेमिट्यान्स खाताको ब्याजदर १२ दशमलव ५० प्रतिशत कायम गरिएको छ ।
सबैखाले निक्षेपको ब्याजदर घट्दा विकास बैंकहरुको आधार दर घट्ने र त्यसले कर्जाको ब्याजदर घटाउन पनि मद्दत पुग्ने एशोसियसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्