Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


आठ हजार रुपैयाँ बुझाउन नसक्दा जेल


0
Shares

काठमाडौं, भदौ १६ । आठ हजार रुपैयाँ धरौटी बुझाउने पैसा नहुँदा एक महिला दुई महिनादेखि उक्त रकम बराबरको जेल सजाय भुक्तान गरिरहेकी छन् ।

रुपन्देही देवीनगर घर भई कास्कीमा मजदुरी गर्दै आएकी गीता घर्ती स्याङ्जा कारागारमा परेकी हुन् । उनको साथमा नौ वर्षीया छोरीसमेत छिन् ।

कारागार प्रशासनका अनुसार कर्तव्य ज्यान र चोरी मुद्दाका आरोपीलाई सघाएको आरोपमा उनी पक्राउ परेकी थिइन् । घर्तीसँग गहना राखेर पैसा देऊ भन्दै एकजना आएका थिए । उनले आफूसँग पैसा नभएको बताएर चिनजानकी अर्की एक महिलाको नम्बर दिएकी थिइन् ।

‘ऊ फुपूसासुको हत्या गरेर गहना चोरेर भागेको मान्छे रहेछ,’ घर्ती भन्छिन्, ‘मैले सहयोग गरेको भनेर पुलिसले पक्रेपछि मात्रै उसको कर्तुत थाहा भयो ।’

कारागार प्रशासनका प्रमुख बुद्धिप्रसाद शर्माका अनुसार घर्तीको दुई महिना बराबरको लगत करिब ३ हजार ६ सय कट्टा भएको छ । अब उनले जेलबाट छुटकारा पाउन करिब ५ हजार असुली गरी अझै ४ महिनाजति कारागार बस्नुपर्नेछ । ‘आमा थुनामा परेपछि छोरीलाई जिम्मा लिन कोही आएन, हामीले पढ्न पठाउने अस्थायी प्रवन्धसम्म गरेका छौं,’ उनले भने, ‘उनको बास आमासँगै छ, हामीलाई पनि हेर्दा नरमाइलो लाग्छ ।’ –कान्तिपुर दैनिकबाट