
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने भन्दै पौडेलले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताउनुभएको हो । आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।
पौडेलले भन्नुभयो– ‘हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरू बाँझो छन् । हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ ।’ विदेशी आयातबाट खानेकुरा धान्ने कसरी हो भन्ने राज्यले सोच्नुपर्ने पौडेलको भनाइ छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्