काठमाडौं । फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘होलीमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन पूर्ण सुरक्षाको व्यवस्था गरेका छौं ।’ उहाँका अनुसार मादक पदार्थ, लागु औषध सेवन, ओभर स्पिड, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, दुईजना भन्दा बढी सवार भएको मोटर साइकललाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिइएको छ ।
प्रहरीले त्यसबाहेक क्युआरटी र विशेष चेकिङलाई निरन्तरता दिने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडांै, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सुरक्षा योजना तयार गरी काठमाडांै उपत्यका प्रहरी कार्यालयमा पठाएका छन् भने उपत्यका प्रहरी कार्यालयले सो योजना प्रहरी प्रधान कार्यालयमा पेस गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्