Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल


975
Shares

काठमाडौं । नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ ।

चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ ।

चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए । प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । ‘चियाको गुणस्तरमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय टेस्टरबाट विभिन्न प्यारामिटरमा गरिएकोे परीक्षणमा नेपाली चियाको गुणस्तर उत्कृष्ट ठहरिएपछि मेडल प्राप्त भएको हो ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।