 
	    काठमाडौं । फरक क्षमताका बहिरा बालबालिकाका लागि दिइने शिक्षा शैली चुनौतिपूर्ण छ । विद्यालयले मेहनतपूर्वक सांकेतिक रुपमा भाषाको ज्ञान दिएपनि अभिभावकमा त्यसखाले सांकेतिक भाषा ज्ञान नहुँदा समस्या पर्ने गरेको छ । पठन पाठनमा अब्बल भएपनि रोजगारीको अवसरमा वञ्चित हुनुपरेको छ ।
केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल । अरु विद्यालयमा जस्तो हल्लाखल्ला नै हुँदैन । फरक क्षमताका बहिरा बालबालिका पढ्ने स्कुल भएकाले यहाँ आवाजभन्दा इशाराबाट शैक्षिक संवाद हुन्छ । मीठो गीतलाई बुझाउन पनि इशाराको संकेत आवश्यक हुन्छ । यहाँ प्री प्राइमरीदेखि १२ कक्षासम्म पठनपाठन हुन्छ ।
यस विद्यालयमा पढ्ने कुल ३ सय ८८ विद्यार्थी १ सय ९७ छात्र र १ सय ९१ छात्रा छन् । रोचक त के छ भने यहाँ रहेका २८ शिक्षक शिक्षिकामध्ये केही बहिरा शिक्षक रहेका छन् ।
कुनै सामान्य अवस्थाका बालबालिका विद्यालय भर्ना हुनुअघि घरबाटै लगभग ५ सय शब्द सिकेर आउने गरेपनि यस विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी शब्दको कुनै ज्ञान नै नभई आउने हँुदा उनीहरुलाई शब्द शब्दको दृश्य भाषा सिकाउने गरिएको केन्द्रीय बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले बताउनुभयो ।
शब्दमा भन्दा शब्द सँगसँगै दृश्यबाट अध्ययन गराउनुपर्ने यस विद्यालयका विद्यार्थीहरु विद्यालय हातामा रहुन्जेल सांकेतिक भाषामा एकअर्कासँग कुरा गर्ने भएपनि अधिकांश परिवारका सदस्यमा सांकेतिक भाषाको ज्ञान नहुँदा उनीहरुको सिकाइ विद्यालयमै सीमित हुने गरेको छ ।
अरु विद्यालय जस्तै यस विद्यालयमा पनि अतिरिक्त गतिविधि गराइने गरेको छ यद्यपी कान नसुनेपनि इशारामा उनीहरु रमाउने गरेका छन् ।
प्री प्राइमेरीमा दृश्य र शब्द मार्फत अध्ययन गराइने र यसको आधारभूत ज्ञान भएपछि वाक्य गठन सिकाउने गरिएको छ । जन्मजात बहिरा हुनु र कुनै घटनाक्रमले बहिरा हुन पुग्ने विद्यार्थी एकै ठाउँमा रहँदा घटनाक्रमले बहिरा हुन पुगेका विद्यार्र्थीमध्ये कसै कसैको भने आवाज समेत निस्कने र आवाजका साथ सिकाईमा प्रतिक्रिया दिने गर्छन ।
यस विद्यालयमा पढेका विद्यार्थी मध्ये केहीले गौरवपूर्ण इतिहास पनि बनाएका छन् । मानवताको हिसाबले एकाधलाई रेष्टुरेन्ट, स्वयंसेवी क्षेत्रमा काम दिइएपनि आमरुपमा बहिरामाथिको विभेद कायमै छ । घर, समाज हुँदै राष्ट्रसम्म फैलिएको यो दृष्टिकोण चिर्न जरुरी छ । नत्र चैतन्य र ज्ञानमार्फत फक्रिएका यस्ता फूलहरु असमयमै ओइलाउनुको विकल्प रहँदैन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्