Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पोखरा विश्वविद्यालयका ७८ सय बढी विद्यार्थी दीक्षित


936
Shares

दीपक बन्जारा

पोखरा । पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय धुंगेपाटनस्थित परिसरमा शुक्रबार आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको हो। यस वर्ष विश्वविद्यालयबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा प्रधानमन्त्री, कुलपति, सह–कुलपति, रजिस्ट्रार, विभिन्न संकायका डिनहरू, प्राध्यापकहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले युवाहरू ठूलो सङ्ख्यामा विदेशतर्फ आकर्षित हुनु चिन्ताको विषय भएको बताउनुभएकाे छ। यसको कारण र समाधान खोज्नु राज्य -विश्वविद्यालय दुवैको दायित्व भएको उहाँकाे भनाइ छ। समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। वक्ताहरूले दीक्षित विद्यार्थीहरूलाई आगामी दिनमा सीप, नैतिकता र नेतृत्वद्वारा राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरेका छन्।

दीक्षान्त समारोह विश्वविद्यालय जीवनको महत्वपूर्ण उपलब्धि भएकाले सहभागी विद्यार्थीहरू उत्साहित भएका छन् । अभिभावकहरूले आफ्ना सन्तानको सफलताप्रति गर्व व्यक्त गरेका थिए। पोखरा विश्वविद्यालयले विगत दुई दशकदेखि व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान तथा मानविकी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। २१ औं दीक्षान्त समारोहले विश्वविद्यालयको शैक्षिक यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ।