१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


३ वर्षमा नेपालको आर्थिक वृद्धि ८ प्रतिशत हुने


195
Shares

काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तर्जुमा गर्दै सो आर्थिक वृद्धि हुने अनुमान गरेको हो । गत आर्थिक वर्षमा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएकोमा चालू आर्थिक वर्षमा हालको तथ्यांकअनुसार ४ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा ७ दशमलव ४ प्रतिशत र आर्थिक वर्ष २०८२-८३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । विश्व बैंकले भने आगामी आर्थिक वर्षमा ४ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालू आवमा भने ५ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । राष्ट्रिय योजना आयोगले कृषि क्षेत्रको आर्थिक वृद्धि कम हुने र गैरकृषिको बढी हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा कृषि क्षेत्रको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र हुनेछ भने त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः ३.८ र ३.७ प्रतिशत हुनेछ । यसैगरी, उद्योग क्षेत्रको आर्थिक वृद्धि भने गत आर्थिक वर्षमा १०.२ प्रतिशत रहेकोमा चालू आवमा १०.३ हुने अनुमान गरिएको छ । यसैगरी, आगामी आवमा उद्योग क्षेत्रको आर्थिक वृद्धि ६.८ मात्र हुने भने आर्थिक वर्ष २०८१-८२ मा ९ प्रतिशत पुगेर आर्थिक वर्ष २०८२-८३ मा ९.३ पुग्नेछ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।