काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट मल बनाउन सुरू गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले नमुनाका रूपमा पहिलो चरणमा १२ टन जैविक फोहोरबाट मल बनाउन सुरू गरेको विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।
कामपाले बानेश्वर क्षेत्रबाट ल्याएको जैविक फोहोरबाट पहिलो चरणमा मल उत्पादन सुरू गरेको हो । मल बन्न कम्तीमा पनि दुई महिना लाग्ने अनुमान गरिएको छ । महानगरले सफलतापूर्वक फोहोर उत्पादन गरे सबै वडामा यही विधि लागु गरी फोहोरबाट मल उत्पादन गर्ने तयारी गरेको छ ।
विभाग प्रमुख श्रेष्ठले भन्नुभयो– ‘केही स्वयंसेवकको समूहले मल बनाउन सुरू गरेको छ । सो समूहले प्रयोग गरेको टेक्नोलोजी सफल भएमा कामपाले व्यावसायिक रूपमै मल उत्पादन गर्ने तयारी गरेको छ ।’ उहाँका अनुसार महानगरले हरेक वडामा फोहोरबाट मल बनाउने तालिम सञ्चालन गरी घरघरमै मल उत्पादन गर्ने योजना अघि बढाइनेछ ।
यसैबीच महानगरले साउन १ गतेदेखि लागु गर्ने भने तापनि हालसम्म कार्यान्वयन हुन नसकेको घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने विधि फेरि लागु गरेको छ । कामपाले जैविक (कुहिने) फोहोरबाट मल बनाउन र अजैविक फोहोर (नकुहिने) मात्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने गरी फेरि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन सुरू गरेको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्