काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरू भएको छ ।
नेपाल छाला जुत्ता उत्पादक संघले बुधबारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारा सहित काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरू गरेको हो ।
प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गर्नुभएको छ । प्रदर्शनी फागुण ९ गतेसम्म चल्ने छ । प्रदर्शन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय बजारमा देखिएको तरलता अभाव लगायतका समस्याबाट तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गर्नुभयो । चौधरीले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताउनुभयो । साथै उहाँले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिनु पर्ने बताउनुभयो ।
प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आवद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरिएका जुत्ताहरु राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ ।
प्रदर्शनीको मुख्य उदेश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रुपमा अधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको छ । मेलामा करिव ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको रहेको छ ।
मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता,चप्पल तथा छाला जन्य वस्तुहरु राखिनेछ । मेलामा नेपाली उत्पादन महिला,पुरुष र बालबालिकाका लागि जुत्ता लगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।
मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्