काठमाडौं । भारतले जोगवनी नाकादेखि ४ किलोमिटर नजिकमा रहेको मीरागञ्ज परमान नदीमाथिको पक्की मोटरेबल पुलबाट सवारीसाधन आवतजावतका लागि अनुमति दिएको छ ।
एक वर्षअघि पुल भासिएपछि भारतले यसबाट सवारीसाधन चल्न अनुमति दिएको थिएन । अहिले मोटरेबल पुल निर्माणपछि भारतीय पक्षले सवारीसाधन चलाउन अनुमति दिएको हो ।
भारतीय पक्षले गत शुक्रबार आधिकारिक रुपबाट सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ । नेपाली उद्योगी-व्यवसायी र सरकार दुवैले पुल सञ्चालनका लागि अनुमति दिन आग्रह गर्दै आएका थिए ।
यो अनुमतिले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउने मालवाहक सवारीसाधनलाई निकै सहयोग पुग्नेछ । अहिले पुल सञ्चालन नहुँदा मालवाहक सवारीसाधन १ सय १६ किलोमिटर पर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनुपर्ने झन्झट थियो । अब ४ किलोमिटर दूरी पार गरेपछि सवारीसाधन नेपालको आईसीपीमा आउनेछन् ।





प्रतिक्रिया दिनुहोस्