१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेरिने


1.131k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत हप्ता भएको स्थायी कमिटी बैठकका राख्नुभएको पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव पारित भएको छ । प्रचण्डको उक्त प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गर्दै नाम र चुनाव चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो ।

१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा प्रचण्डले नाम, चुनाव चिन्ह र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

उहाँले प्रस्तावमा भन्नुभएको थियो– ‘संरचनागत, विधि र पद्धति, नाम र चिन्हलगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’ प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्तावसमेत अगाडि सार्नुभएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिन्ह र संरचना परिवर्तन गर्ने गरी प्रस्तुत राजनीतिक प्रस्ताव बैठकले पारित गरेको जानकारी दिनुभयो । यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाका लागि कार्यक्रम प्रस्ताव गरेको समेत उहाँले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।