काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा वित्तीय प्रगति दयनीय बनेको छ । महानगरले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १७ को अर्धवार्षिक आर्थिक प्रगति अत्यन्तै कमजोर बनेको छ ।
कामपाका प्रवक्ता रहेका नवीन मानन्धर अध्यक्ष रहेको सो वडाको आर्थिक प्रगति शून्य दशमलव ७३ प्रतिशत रहेको छ । अधिक वित्तीय प्रगति गर्नेहरुमा वडाहरुमा १६, २०, १४, २३ र २६ गरी पाँच वडा रहेका छन् । यी वडाले क्रमशः ५१, ४९, ४२, ४१ र ३९ प्रतिशत प्रगति हासिल गरेका छन् ।
कामपाले चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा १८ दशमलव ८४ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
सबैभन्दा कम आर्थिक प्रगति गर्ने वडाध्यक्ष एवं प्रवक्ता मानन्धरले लाखौं रुपियाँबराबरको योजना सम्पन्न गरे पनि रकम माग नगरेका कारण कम आर्थिक प्रगति गर्ने वडामा परेको दाबी गर्नुभयो । ‘अब एक वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक प्रगति गर्ने वडाको लिस्टमा १७ नम्बर वडा रहनेछ ।’ –उहाँले भन्नुभयो । सो वडाले कम प्रगति गरे पनि वडावासीका लागि थुप्रै काम गरेको दाबी गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्