Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


चौधरी थुनामुक्त नभएसम्म सरकारलाई नाउपाले समर्थन नगर्ने


338
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले थुनामा रहेका रेशम चौधरी र अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने भएको छ । मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले सरकारको थुनामा रहेका रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने आफ्नो माग पूरा गर्नुको साटो निर्दोष अरूण चौधरीलाई थुनामा राख्ने हर्कतका कारण सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् ।

‘सरकारले हाम्रा माग पूरा गरेको छैन, झुठा मुद्दा लगाएर थुनामा राखेको छ, सरकारले हाम्रा माग पूरा नगरेको अवस्थामा हामी सुदूरपश्चिम सरकारलाई समर्थन गर्न सक्दैनौं,’ उनले भने, ‘मुख्यमन्त्री राजेन्द्रसिंह रावलले १ महिनासम्म के गर्न सके ?’ बुधबारसम्म थुनामा रहेका रेशम र अरूणलाई रिहाइ गर्ने ग्यारेन्टी भएमा सरकारलाई समर्थन गर्न सकिने उनको भनाइ छ ।

नागरिक उन्मुक्तिले समर्थन नदिएमा सुदूरपश्चिम सरकार धरापमा पर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री रावलले बुधबार दिउँसो विश्वासको मत लिने तयारी गरेका छन् । जसका लागि बुधबार दिउँसो प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।