२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


राष्ट्रियसभा समितिका नवनिर्वाचित सभापतिले लिए शपथ, समितिले के गर्छ ? (भिडियो)


0
Shares

अक्कल कुँवर/नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ १३ । राष्ट्रियसभाअन्तर्गत्का चार विषयगत समितिमध्ये बुधबार तीनओटा समितिका सभापति चयन भएका छन् ।

समितिको पहिलो बैठक बसेको झन्डै तीन हप्तापछि समितिले सभापति पाएका हुन् । समितिका सभापतिले बुधबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रियसभाका चारओटा विषयगत समितिमध्ये तीनओटा समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद सभापतिमा निर्विरोध चुनिएका हुन् ।

सभापतिको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार भएको मनोनयनमा नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुलेमात्र उम्मेदवारी दर्ता गराएकाले निर्विरोध भएको हो ।

चयन भएका समितिका सभापतिहरुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ लिए ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका चार विषयगत समिति पहिलो बैठक बसेको दिनदेखि ज्येष्ठ सदस्यले बैठक सन्चालन गर्दै आएका थिए ।

राष्ट्रियसभाअन्तर्गत् महत्वपूर्ण विधायन व्यवस्थापन समितिले कानुन निर्माण र कानुनीकार्यका लागि काम गर्नेछ । समितिको सभापतिमा नेकपाका सांसद पर्शुराम मेघी गुरुङ चयन भएका छन् । समितिमा १४ जना सदस्य छन् ।

यस्तै, अर्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति हो । कानुन निर्माणपछि नियमावली र निर्देशिका निर्माण गरी सरकारी निकायले गर्ने कामकाबारेमा अध्ययन गर्ने क्षेत्राधिकार भएको समितिको सभापतिमा नेकपाका सांसद रामनारायण बिडारीले नेतृत्व गरेका छन् । यो समितिमा १३ जना सदस्य छन् ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समिति पनि महत्वपूर्ण समिति हो । राष्ट्रिय सरोकारका मुद्दाहरुमा छलफल गर्ने र आवश्यक निर्देशन दिने यो समितिमा १४ जना सदस्य छन् । समितिको सभापतिमा नेकपाकै दिलकुमारी रावल थापा चयन भएकी छन् ।

राष्ट्रियसभाको अर्को विषयगत समिति दीगो विकास तथा सुशासन समितिले भने अझै नेतृत्व पाउन सकेको छैन । उम्मेद्वारी दर्ता नभएकाले समितिको सभापति चयनका लागि पुनःनिर्वाचन गर्नुपर्ने भएको छ ।

राजनीतिक सहमतिअनुसार समितिको सभापति कांग्रेसले पाउनेछ । विकास आयोजना र लक्ष्यकाबारेमा छलफल गर्ने र आवश्यक निर्देशन दिने यो समितिमा पनि १४ जना सदस्य छन् ।

भिडियो हेर्नुहोस्