१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


जग्गा वर्गीकरण छिटो टुंग्याउन स्थानीय तहलाई आग्रह


78
Shares

काभ्रे । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन काभ्रेले जग्गा वर्गीकरण छिटो टुंग्याउन स्थानीय तहलाई आग्रह गरेको छ।

धुलिखेलमा भएको लेखापढी कानुन व्यवसायीको १६ औं साधारणसभामा बोल्दै जिल्ला अध्यक्ष रोशन श्रेष्ठले समयमै जग्गा वर्गीकरण नहुँदा अशंवण्डा समेत रोकिएकाले यसतर्फ पालिकाले ध्यान दिनुपर्ने बताउनुभएको हो ।

काभ्रेका १३ वटा पालिका मध्ये बनेपा, धुलिखेल र पाँचखाल नगरपालिकाले मात्रै जग्गा वर्गिकरण टुंग्याएका छन् । वैशाखभित्र वैज्ञानिक तवरले सबै पालिकाको जग्गा वर्गीकरण सम्पन्न गर्नेगरी काम गरिरहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिनुभएको छ ।

उता, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले भने नगरपालिकामा विज्ञ जनशक्तिको अभावका कारण समस्या परेको गुनासो गर्नुभएको छ । ठेकेदारमार्फत काम गर्दा ५० लाखसम्म मागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेलले जग्गा वर्गीकरण नहुँदा राजस्व संकलनमा गिरावट आउनुका साथै नागरिकले पनि सास्ती खेप्नु परेकाे बताउनु भयाे ।