१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


फरक फरक वर्षमा निर्वाचन गर्न सुझाव


169
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन फरक फरक वर्षमा गर्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा र एकै दिन हुँदा प्रादेशिक एजेन्डा’ ओझेलमा परेको तर्क गर्दै उक्त सुझाव अगाडि सार्नुभएको हो ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “चार वटा मतपत्र र चार वटा मतपेटिका हुँदा दुई–तीन प्रकारका समस्या अनुभव गर्‍यौँ । प्रदेश सभाको कार्यसूची नै ओझेलमा पर्‍यो र बदर मतसमेत बढ्यो ।” उहाँले कानुनमा थप व्याख्या गरेर एक वर्ष स्थानीय तहको निर्वाचन, अर्को वर्ष प्रदेश सभा र तेस्रो वर्ष प्रतिनिधि सभाको निर्वाचन गर्न बहस चलाउनुपर्ने बताउनुभयो ।

उहाँले फरक फरक वर्षमा निर्वाचन गर्ने विषयलाई स्वच्छता र निस्पक्षतासँग जोड्दै निर्वाचन अभियानमा उठाइने विषयवस्तु सम्बन्धित निर्वाचनमै केन्द्रित रहोस् भन्ने आयोगले चाहेको बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।