
कपिलवस्तु । कपिलवस्तुमा अवैध सुनको कारोबार गर्दै आएका राजेश बर्मालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
शुद्धाेधन गाउँपालिका ६ बस्ने बर्मालाई प्रहरीले विशेष सुराकीको आधारमा तौलिहवास्थित जमुवार पुलबाट गएराति ९ बजे पक्राउ गरेकाे हाे ।
भारतको नौंगढबाट सुन बिक्री गरेर तौलिहवा आउँदै गरेको सूचना पाएपछि एसपी प्रेमबहादुर बस्नेत आफैँ नाकामा चेकजाँचका लागि खटिएका थिए ।
यस क्रममा बर्मा सवार युपी ५५ एएम०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले २१ लाख ७ हजार १ सय भारतीय रुपैयाँ बरामद भएको छ । उनीहरुसँगै गाडी चालक भारतीय नागरिक हमिद मुसलमान पनि पक्राउ परेका छन् ।
पक्राउ तीनै जनासँग बयान लिने क्रम जारी रहेको र थप संलग्नहरुको नाम बाहिर आउन सक्ने बताइएको छ ।
राजेश बर्माले पकडीमा सुन पसल सञ्चालन गरी बसेका छन् । उनले त्यहाँबाट विभिन्न चरणमा सीमा क्षेत्र चाकरचौडा हुँदै भारतको सिद्धर्थनगरसम्म सुन तस्करी गर्दै आएका थिए ।
उनीसँग तौलिहवाका प्रतिष्ठित सुन व्यापारीहरुसमेत जोडिएको प्रहरी श्रोतले जनाएको छ । बर्मा ३ वर्षअघि ५०० ग्राम सुनसहित पक्राउ परेका थिए । उनले तौलिहवाका व्यापारीहरुसँग सुन लिएर भारतमा सप्लाई गर्दै आएको बताइन्छ ।
अवैध कमाईलाई वैध बनाउन बर्माले तौलिहवामा मेरो मार्ट भन्ने सपिङ्ग सेन्टरसमेत सञ्चालन गरेका छन् । २ महिनादेखि सीमा क्षेत्रमा सुन तस्करी बढेपछि भारतीय रुपैयाँ कमजोर बन्न गएको छ ।
१ सय भारुको १६० खरिद बिक्री हुनुपर्नेमा अहिले १५५ देखि १५७ मा मात्र खरिद बिक्री हुँदै आएको छ । प्रहरी उपरिक्षक प्रेम बस्नेतले पक्राउ तीनै जनासँग सोधपुछ भइरहेको बताउनु भयाे।
प्रतिक्रिया दिनुहोस्