Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


बडादशैँको महाष्टमीः भद्रकालीसहित देशभरका शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो


0
Shares

काठमाडाैं ।

बडादशैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

श्रद्धालुहरू बिहानैदेखि लामवद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजाआराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, दक्षिणकाली, मैतीदेवी, नक्शाल भगवती, संकटा र कालिकास्थान लगायतका शक्तिपीठहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

उपत्यका बाहिरका प्रसिद्ध मन्दिरहरू जस्तै पाल्पाको भगवती, बाँकेको वागेश्वरी, दाङको अम्बिकेश्वरी, गोरखाको मनकामना तथा ताप्लेजुङको पाथीभरा मन्दिरमा समेत श्रद्धालुहरू पूजाआजाका लागि लामवद्ध भएका छन् ।

यस दिन शक्तिपीठहरूमा विधिपूर्वक घटस्थापना गरिएको स्थानमा विशेष पूजाआजाका साथै बलि दिने परम्परा रहेको छ । बलि नचढाउनेहरूले भने कुभिन्डो, घिरौँला, मूला र नरिवल जस्ता फलफूल तथा वनस्पति अर्पण गरी पूजाआजा गर्ने गर्दछन् ।

आजकै दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष स्तोत्र पाठ गर्ने धार्मिक मान्यता रहिआएको छ ।

महाष्टमीको अवसरमा किसान, कालिगड र सुरक्षाकर्मीहरूले आ–आफ्ना हातहतियार, औजार, सवारी साधन र कलपुर्जाहरूको सफाई गरी विश्वकर्मा र दुर्गा माताको प्रतीकका रूपमा विधिपूर्वक पूजा गरिरहेका छन् । आज राति मध्यरातमा शक्तिपीठहरूमा तान्त्रिक विधिबाट कालरात्रि पूजा गर्ने चलन छ, जसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ ।

Skip This