१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


बन्द कम्पनीको पाँच अर्ब बक्यौता उठाउन फेरि सूचना


130
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को बक्यौता रकम असुल गर्न प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले यूटीएलसँग सवा ५ अर्ब रुपैयाँ असुल गर्न बाँकी रहेको जनाउँदै सार्वजनिक सूचना निकालेको हो ।

प्राधिकरणले ६ वर्षभन्दा बढी समयदेखि यूटीएलले प्राधिकरण तथा नेपाल सरकारलाई बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी तथा रोयल्टी दस्तुर नबुझाएको भन्दै माघ मसान्तभित्र बक्यौता बुझाउन सूचना जारी गरेको छ ।

प्राधिकरणले यसअघि पनि पटकपटक बक्यौता उठाउन प्रयास गर्दै आएको छ । कम्पनीले ग्रामीण दुरसञ्चार विकास कोषमा पनि रकम जम्मा गरेको छैन ।

यूटीएलको अहिले नेपालमा कार्यालय छैन भने कम्पनी मातहत कुनै पनि कर्मचारी कार्यरत छैनन् । यूटीएलमा भारतीय विभिन्न कम्पनी र नेपालीहरूकाे साझेदारी छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।