Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


सन्दीपलाई थुनामै राख्न निवेदन गरिंदैै


2.2k
Shares

काठमाडौं । जबरजस्तीकरणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेको छ। उच्च अदालत पाटनले पुस २८ मा लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत पाटनको उक्त आदेश बदर गरी लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको निवेदन सर्वोच्चमा दर्ता गर्ने भएको हो।

नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध दर्ता भएको मुद्दा अदालतमा विचाराधीन छ। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। करिब तीन महिना थुनामा बसेका लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उनको मागबमोजिम उच्च अदालतले ससर्त धरौटीमा छाड्न आदेश गरेको थियो।

उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए। ‘न्याय प्रशासन ऐनको दफा १५ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार निवेदन दिने निर्णय भएको छ,’ रेग्मीले भने, ‘निवेदनको मस्यौदा तयार हुँदैछ। एकदुई दिनभित्र सर्वोच्च अदालतमा निवेदन दर्ता गर्छौं।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।