Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


ओलीको दवाव, दाहाल अनिच्छुक


767
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि उनलाई गैरसांसदको रूपमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमै फर्काउन ओलीले प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका हुन्। ‘उहाँ (रवि लामिछाने) लाई गृह मन्त्रालय नदिनुपर्ने कुनै कारण छैन, त्रुटि सच्चिएको छ। उपनिर्वाचन नहुँदासम्म उहाँलाई गैरसांसदको रूपमा मन्त्रिपरिषदमा फर्काउनुपर्ने एमालेको राय छ’, एमालेका एक पदाधिकारीले भने।

लामिछाने नेपाली नागरिकताविहीन भएको फैसला सर्वोच्च अदालतले शुक्रबार सुनाएपछि उनको प्रतिनिधिसभा सदस्य, मन्त्री र पार्टी सभापति पद गुमेका थिए। अदालतले नागरिकताविहीन लामिछाने सांसद हुने अयोग्य भएको फैसला सुनाएपछि सोही दिन उनले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। दाहाल नेतृत्वका सरकारमा उनी गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्री भएका थिए।

नागरिकता लिएपछि लामिछाने रास्वपा सभापतिमा फर्किएका छन्। सभापतिमा फर्केपछि उनलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा पुनः सरकारमा सहभागी गराउनुपर्ने पक्षमा ओली छन्। तर प्रधानमन्त्री दाहालले गृह मन्त्रालय अरूलाई दिन चाहेका छैनन्। लामिछानेको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन्। प्रधानमन्त्रीको कार्यालयपछि शक्तिशाली मानिएको गृह मन्त्रालयको नेतृत्व लिन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रुचि देखाएका छन्। प्रधानमन्त्री दाहालले केही समय गृह मन्त्रालय आफैसँग राख्ने सोच बनाएको स्रोतले बतायो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।